नैराश्यतामा परमेश्वरको जवाफ

Admin
0

 




मानिसले गर्ने चिन्ता–फिक्री कतिसम्म वास्तविक छ भन्ने कुरो अध्ययन गर्दा यस्तो भेटियो:

– मानिसले गर्ने चिन्ताको ४० प्रतिशत हुँदै नहुने कुरामा केन्द्रित हुन्छ।

– मानिसको ३० प्रतिशत चिन्ता बिगतका कुराहरूमा केन्द्रित हुँदछन्। त्यसलाई चिन्ता गरेर परिवर्तन गर्न सकिँदैन। मानिसको ७० प्रतिशत चिन्ता अनावश्यक हुन्। अब बाँकी रह्यो ३० प्रतिशत! त्यसमध्ये पनि,

– मानिसको १२ प्रतिशत चिन्ता अरूले लाउने आरोपमा केन्द्रित हुँदछ, ती प्राय सही हुँदैनन्।

मानिसको १० प्रतिशत चिन्ता स्वास्थ्यप्रति हुँदोरहेछ। चिन्ताले स्वास्थ्यलाई झन् बिगार्छ।

– बाँकी रहेको मानिसको ८ प्रतिशत चिन्ता मात्र वास्तविक हुँदछन्, ती सामना गरेरै छाडिन्छ।

अहिले हामीले पढेको खण्डले हामीलाई चिन्ता–फिक्री मानिसको आफ्नै दिमागका सृजना हुन्, तर त्यसलाई परमेश्वरको नजरबाट हेर्न जानिएको खण्डमा ती हाम्रै वशमा हुँदछन् भन्ने पाठ सिकाउँछ। इस्राएलका महान् अगमवक्ता एलियालाई हेर्नुस्,

यहूदी इतिहासमा उनी जतिको महान् अगमवक्ता अरू कोही थिएनन्। पुस्तक नलेखे पनि उनको चर्चा अरूको तुलनामा बढी नै गरिन्छ। हामीमध्ये धेरैलाई उनका घटनाहरू कण्ठस्थ छ। परमेश्वरका अचम्मका धेरै कामहरू उनीद्वारा गरिए। यो खण्डको प्रसङ्ग हेर्ने हो भने कार्मेलमा बाल देवताका अगमवक्ताहरूका सामुन्ने बलिका थोकलाई स्वर्गबाट आगो बर्साएर जलाउने बाजी उनले जितेका मात्र होइनन्, परमेश्वर को हुनुहुन्छ भन्ने कुरो पनि प्रमाणित गरेर छाडे। त्यो सानो जीत थिएन, तर पनि यसलाई विजयी उत्सवको रूपमा उनले मनाउन सकेनन्। रानी ईजेबेलले मार्ने धम्की दिएपछि उनी ज्यान जोगाउनको लागि हतार गरेर उत्तरदेखि दक्षिणसम्म भागे। एलिया सिद्ध मानिस होइनन्। हामीजस्तै निराशाले गाँज्न सक्ने साधारण मानिस हुन् (याकूब ५:१७–१८), तर त्यस्तो अवस्थाबाट परमेश्वरले आफ्नो जनलाई कसरी उठाउनुहुन्छ भन्ने कुरो हामीले सिक्नैपर्दछ। निराशाले हामीलाई हिजोको दिन प्रभुले कसरी चलाउनुभयो भन्ने कुरो बिर्सने बनाउँछ। वर्तमानमा दिइएको मौकाप्रति बितृष्णा बढाउँछ। वर्तमानको मौका नबुझेपछि भविष्य झन् असुरक्षित देख्ने बनाउँछ। अविश्वासले जरा गाडेपछि परमेश्वरको काम गर्ने समय र तरिकामा ध्यान जाँदैन। फलस्वरूप भाग्ने भगौडा बनाउँछ। एलिया जस्तो महान् व्यक्तिको यो कमजोरी यहाँ नलुकाईकन पवित्र आत्माले हामीलाई सिकाउँदै हुनुहुन्छ कि हामी पनि नैराश्यतामा पर्न सक्छौँ, तर परमेश्वरले हामीलाई त्यतिकै छाड्नुहुन्न भन्ने वचनलाई हामी केही बुँदाहरूमा विभाजन गरेर बुझ्न लागौँ:

क) धम्की आउने परिस्थितिलाई स्वीकार गर्नुपर्दछ (१–२)
हामी प्रभुको सेवा गर्छौं भने धम्की खेप्नु पनि सेवाको एउटा भाग हो – यसलाई इन्कार गर्न सकिँदैन। धम्की जहाँबाट पनि आउन सक्छ। निष्क्रिय मानिसलाई कसैले पनि धम्की दिँदैन, किनकि ऊ धम्की दिइनयोग्यको मानिस होइन। राम्रो र नराम्रो काम गर्ने दुवैलाई धम्की दिइनसक्छ – बढीचाहिँ राम्रो काम गर्नेलाई दिइन्छ। तपाईंको असल कार्यले कसैको चैनमा बाधा दिन्छ भने उसले आफ्नो सुरक्षाको लागि तपाईंलाई खतरनाक प्रतिद्वन्दीको रूपमा लिनसक्छ। एलिया पनि चुप लागेर बसेको भए, उनलाई कसैले धम्की दिने थिएन। हामी यहाँ पढ्दछौँ,

‘उनले गरेका सबै काम’को चर्चा भयो (१ पद)।

यहाँ एलियाले गरेको कामको चर्चा भएको छ। योचाहिँ ठूलो कुरा हो। केही न केही काम भएको कारण नै चर्चा भयो। काम नगरिएको भए, चर्चा हुने नै थिएन। धम्की दिइनलायकको काम भयो। एलियाले गरेको काम बारे राजा आहाब आफैले आफ्नै दुष्ट श्रीमती ईजेबेललाई खबर दिए। काम के हो त? एलियाद्वारा बाल देवताका अगमवक्ताहरूको सफाइ र परमेश्वरको उपस्थितिलाई प्रकट!

खुसीको कुरो यो हो, आफूले गरेका असल कार्यहरूको प्रचार–प्रसार एलिया आफैले गर्नु परेन – राजा आहाबले नै गरिदिए। परमेश्वरले उनीमार्फत गर्नुभएको अचम्मको काम देखेर मानिसहरू प्रभुमा फर्कनुपर्ने हो। इस्राएलमा परमेश्वरको आराधना हुनुपर्ने हो र एलिया प्रसिद्ध हुनुपर्ने हो, तर त्यसको ठीक उल्टो, उनको ज्यानको पछाडि इस्राएलको राजपरिवार नै लाग्यो। देवताहरूको नाममा शपथ खाएर ईजेबेलले समाचारवाहक खटाएर एलियालाई मार्ने धम्की दिइन्। राजकीय शक्ति, अधिकार र देशको जनशक्तिको दुरुपयोग गरेर अगमवक्तालाई सिध्याउने योजना रचियो। पहिला पनि एलियालाई सिध्याउनको लागि गुप्तचरहरू खटाइएका थिए, र खोज्नसम्म खोजियो, तर परमेश्वरले विशेष उपाय दिएर उनलाई जोगाउनुभयो। ईजेबेलको धम्कीलाई विचार गर्नुस् तः छन्द मिलाएर गीत वा कविताको भाकामा यसरी भनियो

‘‘जसरी तैंले उनीहरूको प्राण लिइस्, त्यसरी नै भोलि यही बेलासम्म तेरो प्राण पनि मैले लिइनँ भने, देवताहरूले मलाई त्यस्तै वा त्योभन्दा बढी व्यवहार गरून्।’’ एलियाको ज्यान लिनको लागि ईजेबेलले आफू नाश भए पनि मतलब राखिनन्। यी इस्राएलभन्दा बाहिरका विवाह गर्न निषेध गरिएको देशकी चेली हुन्। याहोवेलाई पुज्ने इस्राएलमा यिनैले बाल देवता र पूजाहारीहरू माइतबाट झिकाएकी थिइन्। साँचो परमेश्वरको अगमवक्तालाई यिनी देखी–सहन्न् ईजेबेल! एलियाको कारण तिनको अधार्मिकताको जग भत्कियो। यो परमेश्वरबाट आएको प्रहार थियो। यो प्रहारलाई खप्न नसकेर तिनले उनलाई मार्ने धम्की दिइन्। वास्तवमा एलिया धन्यका हुन्, किनकि सत्यताको खातिर उनीबाट धम्की दिइनयोग्यको असल काम भयो।

Post a Comment

0Comments

Post a Comment (0)